Categories
Local news

कञ्‍चनपुरमा सलह भित्रियो

महेन्द्रनगर — कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास र कृष्णपुरमा सलहको झुण्ड देखिएको छ । पुनर्वास नगरपालिका १० को विकास बस्ती र कृष्णपुर नगरपालिका–६ मा बिहीबार साँझ सलहको झुण्ड देखिएको हो ।

साँझको समयमा आएकाले उक्त क्षेत्रमा कुनै क्षति नगरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले बताए । उनका अनुसार भारतको गौरीफण्टा क्षेत्रबाट सलह नेपाल प्रवेश गरेको हो । ‘एक/दुई ठाउँमा रुखका पात खाएको छ, खेतीपातीमा क्षति गरेको छैन’ उनले भने, ‘स्थानीयले सलह आकाशमै छँदा थाल ठटाएर र धुँवा बालेर धपाउन सफल भएका छन् ।’

पुनर्वासको आकाशमा सल देखिनेबितिक्कै स्थानीय खेतबारीमा गएर थाल ठटाउन थालेका थिए । उनीहरुले खेतमै धुँवासमेत लगाएका थिए । कृष्णपुरमा पनि साँझकै समयमा सलह देखिएको हो । ‘सलह नियन्त्रणका लागि हामीले सबै पालिकाका कृषि शाखाका प्राविधिकहरुलाई तयारी हालतमा बस्न आग्रह गरेका छौं,’ ज्ञान केन्द्रका प्रमुख भट्टले भने, ‘हामी पनि तयारी अवस्थामा बसेका छौं ।’

यसअघि नेपालमा निष्क्रिय देखिएको सलह केही दिनअघि प्यूठानमा देखिएको थियो ।

video from SIPS media

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.